६ वैशाख (खोटाङ)- आन्तरिक राजस्व कार्यालय लाहानले खोटाङमा करदाता सेवा कार्यालय स्थापना गरेपछि स्थानीय करदाताले सहज महशुष गरेका छन् ।
आन्तरिक राजस्व बिभाग अन्तर्गत सिराहाको लाहानमा राजस्व अर्थात कर बुझाउँदै आएका जिल्लाका कम्पनी सञ्चालक तथा ब्यवसायी लगायतका नागरिकले जिल्लामै सेवा पाएपछि
हर्षित बनेका हुन् ।
करदाता सेवा कार्यालय सञ्चालनमा आएसँगै सामान्य कामको लागि समेत तीन दिन बढी समय र पैसा खर्च गरेर लाहान पुग्नुपर्ने अवस्थाको अन्त्य भएको छ । जिल्लामा उक्त सेवा नहुँदा र कामको प्रक्रियाबारे नबुझ्दा पैसा खर्च गरेर अन्य मान्छेमार्फत काम सम्पन्न गर्नुपर्ने बाध्यता झेलिएको स्थानीय कम्पनी सञ्चालकहरु सुनाउँछन् ।
यही बैशाखदेखि दिक्तेलबजारमा स्थापना भई सञ्चालनमा आएको करदाता सेवा कार्यालयबाट लाहानमा गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न गर्न सकिने कर अधिकृत गोपाल राईले बताए ।
कार्यालयबाट स्थायी लेखा नम्बर, मूल्य अभिबृद्दि कर दर्ता, अन्तःशुल्क ईजाजत तथा नबिकरण, कर चुक्ता प्रमाणपत्र लगायतको सेवा प्रदान गरिने कर अधिकृत राईको भनाई छ । बक्यौता असुली, भौचर संसोधन, फाईल स्थानान्तरण लगायतको कार्य सम्पादन गर्ने कार्यालयबाट करदाता शिक्षा पनि सञ्चालन गर्ने जनाईएको छ ।

No comments:
Post a Comment